दोहोरो चालमा माओवादी : कांग्रेससँग प्रधानमन्त्री बार्गेनिङ, एमालेसँग वामपन्थी सरकारका लागि लबिङ

लोकपथ
52
Shares

काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा तेस्रो स्थान प्राप्त गरेको नेकपा माओवादी केन्द्रले सरकार निर्माणमा दोहोरो चाल चलिरहेको छ । नेपाली कांग्रेससँग अब बन्ने सरकारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरिरहेको उसले अर्कातिर नेकपा एमालेसँग वामपन्थी दलहरुको सरकार बनाउन मिल्नुपर्ने भन्दै लबिङ गरेको हो ।

यसका लागि माओवादीका दोस्रो तहका नेताहरु लगातार एमाले नेताहरुसँग भेटवार्तामा रहेका छन् । यही सिलसिलामा माओवादी महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता नै गरिसकेका छन् । ओली नै सरकारको प्रमुख रहेका बेला पार्टी र सरकार सञ्चालनमा विवाद बढेपछि पार्टी विभाजनसम्मको अवस्था आएको थियो ।

ओलीले ज्यादती गरेको भन्दै उनलाई रोक्न दाहालदेखि एमालेका नेता, पछि उक्त पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष बनेका माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरेका थिए । ओलीलाई अपदस्थ गर्न अदालतसम्म पुगेका उनीहरुले गठबन्धन नै बनाएर नयाँ सरकार निर्माण मात्र बनाएनन्, ओलीलाई पाठ चखाउने भन्दै गठबन्धनको सहारामा स्थानीय, प्रदेश र संघीय निर्वाचन लडेका थिए ।

तर निर्वाचनमा आशातित सफलता नपाएपछि माओवादी केन्द्रका नेताहरु एमालेसँग मिलेर सरकार बनाउने प्रयासमा जुटेका हुन् । यसका लागि माओवादीभित्र गुरुङका अलवा नेता नारायणकाजी श्रेष्ठलगायत पनि जुटेका छन् । यसै सिलसिलामा ओलीसँग भेटवार्ता गरिसकेका माओवादी नेताहरु ओली र दाहाललाई भेटवार्ता गराउन जुटेका छन् ।

कम्युनिष्ट सरकार बनाउन बाटो बन्द नगर्ने उद्देश्यले ओलीले पनि निर्वाचन परिणाम आएलगत्तै बधाई दिने बहानामा दाहाललाई टेलिफोन गरेर मन छामेका थिए । उनले माधव नेपाललाई भने सम्पर्क गरेका छैनन् । दाहालको सचिवालयले त कम्युनिष्ट सरकार बनाउने बारेमा दुई अध्यक्षबीच सामान्य छलफल नै भएको भन्दै जानकारी गराएको थियो ।

यद्यपि, एमालेका तर्फबाट उक्त दाबीको तुरुन्तै खण्डन आयो । संदनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले नेतृत्व दाहाललाई नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेकै बेला माओवादीभित्र अध्यक्ष दाहालका विश्वासमात्र मानिने गुरुङ मंगलबार राति बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् । गुरुङको जोड वाम गठबन्धनको विकल्प नभएको र सरकार गठनमा सहकार्य गर्न सकिने भन्नेमा रहेको स्रोतले दाबी गरेको छ ।

यद्यपि, लोकपथसँगको कुराकानीमा भने गुरुङले भेटवार्तामा त्यस्तो खासै निचोड ननिस्केको बताए । संसदमा तेस्रो दलको हैसियतमा रहेपनि आफ्नो नेतृत्वमा आगामी सरकार बनाउन सम्पूर्ण कसरत गरिरहेको माओवादी केन्द्रका नेताहरु पहिलो चरणमै प्रधानमन्त्री कांग्रेसले नछाड्ने देखेपछि समानान्तर रुपमा सत्ता बार्गेनिङका लागि एमालेसमक्ष पुगेको हो ।

माओवादी केन्द्रमा झै एमालेमा पनि दोस्रो तहका नेताहरु अध्यक्षद्वय ओली र दाहाललाई मिलेर जान दबाब बढाइरहेका छन् । स्वयं ओलीले भने कुनै बचन दिएका छैनन् । उनीनिकट स्रोत भने ओलीले माओवादी र नेकपा एससँग मिल्नेभन्दा कांग्रेससँगै मिलेर जान सकिने बताउने गरेको दाबी गर्छ ।

एमाले अध्यक्ष ओली सकारात्मक भएमा दुई पार्टीका अतिरिक्त केही साना दललाई साथमा लिएर सरकार बनाउने र मिलेर जान सकिने माओवादी नेताहरुको बुझाइ छ । गुरुङले यसअघि पनि लमजुङमा एमाले उपमहासचिव पृथ्वी गुरुङसँग पराजित भएलगत्तै कम्युनिष्टहरु मिलेर जानुपर्ने र त्यसको पहलकदमी लिन आग्रह गरेका थिए ।

माओवादीभित्र गुरुङका अतिरिक्त नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन पनि वामपन्थी सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् । त्यसका साथै एमाले महासचिव शंकर पोखरेललाई दाङबाट हराएकी माओवादी नेतृ रेखा शर्माले पनि एमालेसँग मिलेर जानुपर्ने सोही समयमा बताएकी थिइन् ।

वर्तमान संसदमा समानुपातिक र प्रत्यक्ष गरी एमालेको ७८ हुँदा माओवादी केन्द्रको दुबैतर्फ गरेर जम्मा ३२ सिट रहेको छ । दुई पार्टीको कूल सिट ११० हुँदा सरकार बनाउन बहुमत १३८ सिटका लागि अरु २८ सिट अपुग हुन्छ । त्यो सिट केही साना दल र स्वतन्त्रबाट निर्वाचित सांसदबाट जुटाउन सकिने हिसाब कम्युनिष्ट सरकार बनाउन लागेका दुबै पार्टीका नेताहरुले देखाउने गरेका छन् ।

२०७४ सालमा पनि कांग्रेससँग संयुक्त सरकारमा रहेको माओवादीले सरकारमा रहँदारहँदै एमालेसँग गठबन्धन गरी चुनावमा गएको थियो । उक्त चुनावमा एमाले सबैभन्दा ठूलो दल हुँदा सरकारमा रहेर चुनाव गराउने कांग्रेस जम्मा प्रत्यक्षतर्फ जम्मा २३ सिटमा खुम्चिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?