१२ माघ २०७९, बिहीवार

म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र

२०७९,मङ्सिर,२१,बुधबार १६:०६

27
Shares

म्याग्दी । म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवन लगायतका योजना छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका नौ सडक र मोटरेबल पुलसम्बन्धी योजना अलपत्र परेका हुन् ।

त्यसमा पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छ सडक र पाँच मोटरेबल पुल छन् । यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको ५० शय्याको भवन निर्माण छ । बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर, भगवती, पोखरेवगर–भगवती, दरवाङ–ताकमधारापानी बेनी–बागलुङ, बेनी बालढुङ्गालगायत सडक पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती गर्दा समस्या भएको छ ।

म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यले जिल्लाका अधुरा र अलपत्र योजनालाई छ महिनाभित्र पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले जिल्लामा रोकिएका विकास निर्माणका योजनालाई तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

तीन वर्षदेखि म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती कालोपत्र सडक योजना अलपत्र छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजना निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले समयमै पुरा गर्न नसकेको हो ।

आयोजनाको थप समयमा निर्माण कम्पनीले काम सुरु नगरेपछि रघुगङ्गा गाउँपालिका–२ र ३ वडाका जनप्रतिनिधिले पूर्वाधार विकास कार्यालय पुगेर ध्यानाकर्षणपत्र बुझाएका छन् । वडाध्यक्षद्वय अमृत भण्डारी र खिमबहादुर शाहीले सडक कालोपत्र गर्ने काम छिटो अघि बढाउन माग गर्दै कार्यालय प्रमुख गुरुदत्त अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा निर्माण कम्पनीको लापरबाहीले कालोपत्र गर्ने सडक योजना अलपत्र पर्ने खतरा बढेका कारण समन्वय गरेर काम अघि बढाउन उल्लेख गरेका छन् । प्रमुख अधिकारीले पिप्लेदेखि भगवतीसम्मको सडक कालोपत्रकोे काम तत्काल अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन गरिएको बताए ।

‘निर्माण कम्पनीलाई कार्यक्षेत्रमा खटिन हामीले पटकपटक पत्र काटेका छौँ, यही महिनाको अन्तिमबाट काम सुरु हुन्छ’, अधिकारीले भने । पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्र गर्न निर्माण कम्पनीले सडकलाई फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण गर्ने लगायतका काम गरेर छोडेको थियो ।

भ्याटसहित रु १८ करोड ४१ लाख आठ सय ३८ मा ठेक्का सम्झौता भएको यस योजनामा आठ किलोमिटर सडक आठ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्र गर्नुपर्ने उल्लेख छ । प्रदेशका अन्य योजनालाई तत्काल काम अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि पर्वतको मालढुङ्गासम्मको १३ किलोमिटर लामो बेनी–मालढुङ्गा सडक आयोजनाको काम अघि बढ्न सकेको छैन । निर्माण कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्डको काम अघि नबढेको हो ।

निर्माण व्यवसायी चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ । यो सडकमा १३ किलोमिटर दूरी पार गर्न सवारीसाधनलाई डेढ घण्टा समय लाग्छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,२१,बुधबार १६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा

काठमाडाैं । पेशा व्यवसायको वातावण नभएको एवम् राज्यका निकायहरुबाट न्याय नपाएको जस्ता विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी माघ ९ गते

चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६