धुर्कोटको भूत बस्ने ओडार बन्यो ‘विचित्र गुफा’, ढेडुवा लखेट्दा भेटिएको थियो

गुल्मी । कपिलवस्तु बस्दै आएका कृष्णप्रसाद पाण्डे दशैँ मनाउन आफ्नो जन्मघर अर्घाखाँचीको अर्घातोस पुगेका थिए । त्यही मौका पारेर उनी गुल्मीको धुर्कोट, वस्तुमा रहेको विचित्र गुफाको भ्रमण गर्न परिवारसहित पुगे ।

झण्डै आधा घण्टा वित्रिच गुफा घुमे । भित्र भएका भगवानका मूर्तिलाई दर्शन गरे । गुफाभित्र बनेका विभिन्न आकृति हेरेर रमाए । बाहिर निस्केपछि उनले सुनाए, ‘यो गुफालाई मैले १५/२० वर्षअघि सपनामा देखेको थिएँ, त्यतिबेला मैले शिवजीलाई देखेँ, माथि जाने बाटोमा मैले दिशा गरेछु, उहाँले यता नगर्नुस्, हामी हिँड्ने बाटो हो भन्नुभयो ।’

उनका अनुसार त्यस्तै २० वर्षअघि उनले गुफाको कुनै बाटो देखेका रहेछन् । त्यतिबेला उनले गुफाको एक बाटोमा शिवजीलाई देखेछन् । शिवजीले उनलाई बाटो देखाइदिएछन् । त्यही बाटो हुँदै उनी गुफाबाट फर्केछन् ।

गुफाको बीचमा फराकिलो ठाउँ पनि छ । चारतिर जाने स–साना बाटो पनि छन् । तर, ती बाटोहरु केही पर गएपछि टुङ्गिन्छन् । गुफाको एक ठाउँमा चमेराहरु झुण्डिएर बसिरहेका छन् ।

विचित्र गुफा जान खोल्साबाट पर्खाल उठाएर बनाइएको बाटो । तस्वीरः अर्घेलो थापा/लोकपथ

‘त्यस दिनदेखि म भक्त भएको छु, आज आफै आउन पाउँदा म धन्य भएँ ।’, दर्शनार्थी पाण्डेले सुनाए ।

गुल्मी जिल्लालाई चिनारी दिन अहिले धुर्कोटको वस्तुमा रहेको विचित्र गुफा खम्बा बनेको छ । यहाँ आजभोलि सयौँ दर्शनार्थी गुफा भ्रमण गर्नका लागि भनेर आउँछन् । दर्शन गर्न आउनेमा धेरै गुल्मी जिल्ला वरपरका बढी छन् । गुफामा घुम्न आउनेका लागि बाटो बनाइएको छ । पर्खाल उठाएर गुफासम्म आउने सजिलो बाटो बनाइएको छ ।

कुनै बेला भूत बस्ने ओडार भनेर चिनिने यो गुफा अहिले ‘विचित्र गुफा’ भएको छ । खासगरी आन्तरिक पर्यटकका लागि अहिले यो गुफा भ्रमणको गन्तव्य बनेको छ ।

कसरी भेटियो गुफा?

खोल्सा र जंगलको बीचमा रहेको यो गुफा कुनै बेला ‘भूत बस्ने ओडार’ मा मात्र सीमित थियो । ओडारदेखि केही माथिसम्म बारी थिए । अहिले भने पूरै जंगल बनेको छ त्यहाँ । त्यतिबेला ढेडुले हैरान पारेपछि गाउँलेले डेढुवा लखेट्न थाले । भूत बस्ने ओडारमा जोकोही पस्न डराउँथे । ढेडुले हैरान बनाएपछि जनार्दन भण्डारी अगाडि लागे । अरु पछिपछि ।

ढेडु खोज्दा गुफा भेटियो । विभिन्न आकृति देखिँदा सबै चकित परे । त्यो समय वि.सं. २०४५ को थियो ।

गुफाभित्र पर्वतको आकृति । तस्वीरः अर्घेलो थापा/लोकपथ

गुफाको फाटफुट चर्चा हुन थाल्यो । भित्रका अजिबका मूर्ति र आकृति हेर्न आउन थाले । जनयुद्धको बेला गुफा खुला भयो । यहाँ भएका आकृति चोरीसमेत हुन थाले । त्यसपछि वि.सं. २०६७ सालतिर यसको संरक्षण गरिन थालियो । गुफा संरक्षणका लागि विचित्र गुफा संरक्षण तथा विकास समिति बनेको छ । अहिले स्थानीय नै गुफा जोगाउने अभियानमा लागेका छन् ।

विचित्र गुफाभित्र विचित्र आकृति

गुफाभित्र विचित्रका आकृति छन् । गुफा व्यवस्थापन समितिमा आवद्ध तथा गुफाका कर्मचारीसमेत रहेका भानुभक्त भण्डारीले यहाँ पहिलेदेखि नै आकृति बनेकाले हेर्न आउने दर्शनार्थी उल्लेख्य रहेको बताए । ‘धार्मिक हिसाबले यहाँ आउने दर्शनार्थीले पनि गुफामा शक्ति रहेको बताउनुहुन्छ, उहाँहरु आएर मन्दिरमा वर पुगेको विश्वासमा घण्टी चढाउने गर्नुहुन्छ’, कर्मचारी भण्डारीले भने, ‘यो गुफाका बारेमा के पनि भन्ने गरिन्छ भने, यहाँ पहिले राक्षसहरुले दुःख दिएर देउताहरु लुकेर बसेका थिए, पछि उनीहरुले गुफामा आकृति छोडेर गए ।’

नरसिंह अवतारको आकृति ।

गुफाभित्र भित्तामा कुँदिएका विभिन्न आकृति छन् । ती आकृति गुफा भेटिनुभन्दा पहिले नै बनेका ढकालले बताए । कैलाश पर्वतदेखि शिव पार्वतीका मूर्ति, गशेणको मूर्ति, थुनसहितको गाईको आकृति गुफाभित्र छन् । यस्तै गुफाभित्र नरसिंह अवतारको आकृति पनि देख्न सकिन्छ ।

गुफाभित्र पारदर्शी पत्थर

गुफाभित्र विभिन्न किसिमका चट्टानहरु छन् । गुफामा प्रकाश छिर्ने पत्थर, टल्किने धातु लगायत विभिन्न फरक शैलीका ढुंगाहरु देख्न सकिन्छ । गुफाभित्र भएको चुन ढुंगाबाट पहिले गाईको आकृतिमा बनेका थुनबाट दूधझैँ थोपा खसेपनि कसैले थुन भाँचेपछि गाईको आकृतिबाट त्यसरी थोपा चुहिन छोडेको कर्मचारी भण्डारीले बताए ।

प्रचारको कमीले ओझेलमा

गुफाभित्र बनेका विभिन्न आकृतिका कारण धार्मिक दृष्टिले समेत यो गुफालाई हेरिए पनि प्रचारको कमीले गुफा ओझेलमा परेको स्थानीयवासीले बताए । धुर्कोट, वस्तुकै एक स्थानीयले भने, ‘पहिलेको तुलनामा अहिले गुफा हेर्न आउनेको सङ्ख्या बढेको छ, तर पनि प्रचारको अझै कमी छ, यो गुफा गुल्मीको मात्र नभएर नेपालकै पर्यटकीय आकर्षण हो ।’

यो गुफा बजेटको अभावमा प्रचारमा प्रभावकारी बन्न सकेको छैन । कर्मचारी भानुभक्त भण्डारीले भने, ‘यहाँका चट्टानको हामीले बजेटको अभावमा अनुसन्धान गर्न पाएका छैनौँ, भूगर्भविद् ल्याएर गुफाको अध्ययन गर्न पाउने हो भने गुफाको लम्बाई अझै बढ्ने अनुमान छ ।’

सबै तस्वीर: अर्घेलो थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?