काभ्रे मण्डन देउपुर दुर्घटना सुनियोजित, छानबिनको तयारी

काठमाडौँ । नेपाल प्रहरीका डीआइजी सुशील भण्डारीको सुनियोजित ढंगले सवारी दुर्घटना गराई व्यापारिक पार्टनरले नै ज्यान लिएको हुनसक्ने आशंका गरिएको छ । 

यही शनिवार काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिका – ५ ढकालथोकमा बा ३ च २८७ नम्बरको ल्याण्डक्रुजर जीप दुर्घटना हुँदा डीआइजी भण्डारीसहित तीनजनाको मृत्यु भएको थियो । 

जीपको पछाडि सीटमा सवार डीआइजी भण्डारी, स्थानीय पत्रकार जीवन पराजुली र कांग्रेस टेड युनियनका नेता विनोद कार्कीको मृत्यु भएको थियो । 

तर, कारका डाइभर एवं डीआइजी भण्डारीका व्यावसायिक पार्टनर पनौतीका प्रदीप बोगटीलाई भने कुनै चोट नलागेपछि सवारी दुर्घटना सुनियोजित भएको आशंका प्रहरीले गरेको हो । 

दुर्घटनामा परेको जीप बोगटीले नै चलाएका थिए । गाडीको अगाडि सिटमा बसेका पूर्वडीएसपी विनोद गौतम पनि सख्त घाइते भएका छन् ।

हेलम्बु मार्ग हुँदै नगरकोट जाने कच्ची सडकमा क्रसर उद्योग सञ्चालन गर्ने योजनाअनुसार, डीआइजी भण्डारी र गौतम व्यवसायी बोगटीसँग पार्टनरशीप व्यवसाय सञ्चालन गर्नका लागि जग्गा खरिद गर्न उक्त स्थानमा पुगेका थिए । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले दुर्घटना रहस्यमय भएकाले बोगटीलाई निगरानीमा राखिएको बताए । 

प्रहरीका अनुसार जीप दुर्घटनामा तीनजनाको मृत्युसँगै दुईजना गम्भीर घाइते भएका छन् । तर, बोगटीलाई भने कुनै चोट लागेको छैन । 

सडक कच्ची भएपनि जीप दुर्घटना भएको क्षेत्र त्यति अप्ठेरो नभएको भनाइ प्रहरीको छ । जीप दुर्घटना गराइसकेपछि बोगटी आफै सडकसम्म आएर आराम गरी बसेको तर तत्काल प्रहरी तथा अन्यलाई खबर समेत नगरेको भनाइ प्रत्यक्षदर्शीको छ । 

प्रहरी प्रवक्ता उत्तम सुवेदीले डीआइजी भण्डारीको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘दुर्घटना केही शंकास्पद छ, हामी अनुसन्धान गर्छौं ।’, उनले भने ।

करोड रुपैयाँ लगानीमा क्रसर उद्योग सञ्चालन गर्ने र रिसोर्ट स्थापना गर्ने योजना अनुसार, डीआइजी भण्डारी, पूर्व डिएसपी गौतम पत्रकार पराजुली र युवा नेता कार्कीलाई पनि सँगै लिएर सो स्थानमा पुगेका थिए । 

आजै साँझ अन्त्यष्टि 

डीआइजी भण्डारीका आफन्त अष्टेलियामा रहेकाले आज साँझ अन्त्यष्टि गरिने तयारी भइरहेको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

डीआइजी भण्डारीका आफन्तहरू आजै साँझ काठमाडौं आइपुग्दै छन् । आफन्त आइसकेपछि पुशपति आर्यघाटमा उनको अन्त्यष्टि गर्ने तयारी भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?