सुदर्शन गौतमविरुद्ध इन्टरपोलले माग्यो थप कागजात

काठमाडौं – संगठित मानव तस्करीमा काठमाडौं जिल्ला अदालतबाट वारेन्ट जारी भएका नेपाली मूलका क्यानडेली नागरिक सुदर्शन गौतमविरुद्ध रेडकर्नर नोटिस जारी गर्न प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले नेपाल प्रहरीसँग थप कागजात मागेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले गौतमविरुद्धका प्रमाण इन्टरपोल पठाउने तयारी पूरा भइसकेको जनाएको छ । उनीमाथि कलाकारको आवरणमा भारतको नयाँदिल्लीबाट रुसको मस्को, कोलम्बियाको बोगटा, टापु राष्ट्र डोमिनिका र त्यहाँबाट हाइटीको राजधानी पोर्ट औ प्रिन्स हुँदै अमेरिकामा मानव तस्करी प्रयास गरेको आरोप छ ।

साउन ३ मा अदालतले गौतमविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो भने साउन २३ गते महाशाखाले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराउने प्रक्रिया थालेको थियो । स्रोतका अनुसार गौतम क्यानडाको पासपोर्ट वाहक भएका कारण इन्टरपोलले नेपाल प्रहरीसित थप प्रमाण खोजेको हो । एक उच्च प्रहरी अधिकारीले भने, ‘सम्भवत: मानव तस्करीको घटनासँग जोडिएका प्रमाण पाउनासाथ इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गर्छ ।’

नौ महिनाअघि तीन नेपाली पोर्ट औ प्रिन्स पुर्‍याइएका थिए । गौतमसहित संगठित मानव तस्करले हाइटीमा छायांकन गरिने ‘संस्कार’ नामक फिल्ममा अभिनय गर्ने भन्दै बनाइदिएको कागजातको भरमा उनीहरू त्यहाँ पुगेका थिए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?