गृहमन्त्री थापाको अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक निरीक्षण, अध्यागमन सेवालाई चुस्त र प्रभावकारी बनाउन दिए निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभागबाट प्रवाह गरिने सेवा एवं कामकारवाहीलाई चुष्त, दुरुष्त तथा प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभाग लगायत विभिन्न कार्यालयको आज आकस्मिक अनुगमन तथा निरीक्षक गर्दै मन्त्री थापाले अध्यागमन विभाग सुधारको खाँचो समेत औल्याए । 

नेपाल प्रवेश गर्ने विदेशी नागरिकका लागि पहिलो खुड्कीलो अध्यागमन विभाग भएकाले पनि यो सेवालाई थप ब्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ उनले भने ।

कुनैपनि विदेशीले नेपालको ‘फस्ट एक्स्पीरियन्स’ अध्यागमन विभागबाट उपलब्ध सेवाबाट गर्छ मन्त्री थापाले विभागका कर्मचारीलाई प्रश्न गर्दै भने, 'पहिलो अनुभव नै नराम्रो भयो भने के त्यो विदेशी फेरी फर्केर नेपाल आउँछ ? उल्टै अरुहरुलाई पनि नजान सुझाव दिन्छ ।'

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र सिमा नाकामा खटिएका कर्मचारीलाई राज्यले संवेदनशिल जिम्मेवारी सुम्पेको चर्चा गर्दै उनले पेशागत जिम्मेवारी, इमान्दारिता र विश्वसनियतामा असर पार्ने काम नगर्न निर्देशन दिए ।

सरकारले आगामी वर्षलाई ‘अध्यागमन वर्ष–२०१९’ मनाउने तयारी गरेको जानकारी दिर्दै उनले अध्यागमन क्षेत्रको सुधारका लागि सबैको सहयोग, सुझाव र सक्रियता आवश्यकता रहेको बताए । 

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले अध्यागमन विभागबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन आवश्यक स्रोत साधन उपलब्ध गराउन मन्त्रालय प्रतिवद्धता रहेको बताए । अध्यागमन सेवाका कर्मचारीलाई राष्ट्रिय सुरक्षाको जिम्मेवारी समेत रहेकाले पेशागत इमान्दारिता नभूल्न उनको सुझाव थियो । 

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सेवालाई चुष्त र प्रविधिमैंत्री बनाउन नयाँ ‘सफ्टवेयर’ जडानको प्रयास भइरहेको जानकारी दिएका छन् । छ महिनभित्रमा अध्यागमन सेवालाई आधुनिक प्रविधि मार्फत अघि बढाइने तयारी भइरहेको छ ।

सो अवसरमा गृहमन्त्री थापा र गृहसचिव राईले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय र विमानस्थल प्रहरी कार्यालयको अनुगन तथा निरीक्षण गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?