पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का: प्रधानमन्त्री कार्यालयलाई नै जिम्मा

 काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने/नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ ।

नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख सहसचिव राजुमान मानन्धरले दसैंअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको बताए । ‘कागजअनुसार उसैले पाउँछ तर यस्तो बदनाम भएकालाई कसरी दिने ?’ उनले भने ।

प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय गरेको छैन । ‘पप्पु कन्स्ट्रक्सनका बारेमा नराम्रा कुरा आइरहेकाले उसलाई ठेक्का दिइहाल्न सक्ने अवस्था रहेन । के गर्ने भनेर निकै छलफल गर्‍यौं, कतै बाटो नदेखेपछि पत्र पठाएका हौं,’ मानन्धरले भने, ‘प्रधानमन्त्री कार्यालयबाट निर्णय हुँदा यो क्यान्सिल पनि हुन सक्छ ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?