२०७५, ८ कार्तिक बिहीवार ०१:४८

एकता प्रक्रिया टुङ्गो लगाउने गृहकार्य अन्तिम चरणमा


प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीवार ०१:४८

काठमाडौंँ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक तयारी नपुगेको भन्दै बिहीबार बिहानका लागि सारिएको छ । बैठकमा पार्टीको तल्लो निकायसम्मको एकता प्रक्रियालाई टुङ्गो लगाउनेगरी गृहकार्य अन्तिमचरणमा पुगेको भन्दै नेताहरूकै प्रस्तावमा बैठक सारिएको जानकारी दिइएको छ ।
प्रदेश, जिल्ला तथा अन्य कमिटीहरूको एकता प्रक्रियाका विषयमा छलफल गर्ने तयारी बैठकमा गरिएकाले त्यसको अन्तिम गृहकार्य भइरहेकाले बैठक बिहीबारसम्मका लागि सारिएको एक सदस्यले बताए । बैठक बिहीबार ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।  

यसअघिको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा जिल्ला नेतृत्वका बारेमा निर्णय गरेको भए पनि बाँकी भ्रातृ सङ्गठनको एकता प्रक्रियाका विषयमा टुङ्गो लगाउन सकेको छैन । प्रदेश इन्चार्ज तथा सहइन्चार्जको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमतिसहितको लिखित प्रस्ताव सचिवालयमा दर्ता गरेका थिए । तर प्रस्तावका बारेमा निर्णय गर्नु नपर्ने भन्दै सोमबार बसेको सचिवालय बैठकले टुङ्गो लगाएको थियो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस