जुवाको पैसा लुकाएको भन्दै प्रहरीमाथि छानबिन

काठमाडौं –जुवाखालबाट बरामद रकम लुकाएको आरोप लागेका म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज असई विचित्र थापामाथि महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन सुरु गरेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

म्हैपीस्थित एक घरमा चलिरहेको जुवाखालबाट बरामद १७ लाखमध्ये थापाले करिब ५ लाख रुपैयाँ आफैं राखेको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेपछि परिसरले उनलाई जिम्मेवारीमुक्त बनाएर छानबिन थालेको हो ।

गत सोमबार राति असई थापासहित दुई प्रहरी जवानले जुवाखालमा छापा मारेका थिए । जुवा खेलिरहेकाहरू खालमा रहेको केही रकम लिएर भागेका थिए । असई थापाले खालमा रहेको करिब १५ लाख रुपैयाँ आफैंले लिएको र पछि छलफलपछि ५ लाख राखेर अरू फिर्ता गरेको उजुरीमा उल्लेख छ । प्रहरी स्रोतका अनुसार प्रारम्भिक बयानक्रममा केस मिलाउन भन्दै जुवाडेहरूले आफूलाई तीन लाख दिएको असई थापाले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?