दुई सचिवको जिम्मेवारी खोसियो

काठमाडौंं– सरकारले संघीय समाजवादी फोरमको जिम्मामा परेका दुई मन्त्रालयका सचिवलाई बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको छ ।
प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई जिम्मेवारीमुक्त गरी प्रधानमन्त्री कार्यालयमा सारिएको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

स्रोतका अनुसार सरुवा गरिएको कार्यालयमा उनीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन । प्रधानमन्त्री कार्यालयमा प्रशासनिक तथा इन्जिनियरिङ क्लस्टरका सचिवको दरबन्दी भए पनि स्वास्थ्य सचिवको छैन ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री इस्तियाक राईको दबाबमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् निर्णयबिनै कारबाही शैलीमा दुवै सचिवलाई प्रधानमन्त्री कार्यालयमा तानेका हुन् । कानुनअनुसार मन्त्रिपरिषद् निर्णयबिना सचिवको सरुवा गर्न मिल्दैन । प्रधानमन्त्रीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई मन्त्रिपरिषद्को पछिल्लो निर्णयको माइन्युटमा राखेर उनीहरूको सरुवा मिलाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?