दशैँ सकिए लगत्तै राजधानीमा चहलपहल बढ्यो, नागढुङ्गाबाट मात्रै भित्रिए २५ हजार ६ सय ९१ सवारी साधन

काठमाडौं । केही दिन सुनसान बनेका राजधानीका सडकहरु फेरि भिडभाड र सवारी साधनले भरिन थालेका छन् । त्यसका साथै सर्वसाधारण पनि आफ्नो दैनिक काममा व्यस्त हुन थालेका छन् । 
दशैँ मनाउन उपत्यकाबाट बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल बढेको छ । दशैँको फूलपातीदेखि सुनसान बनेको काठमाडौँ उपत्यकामा चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । 

असत्यमाथि सत्य र दुष्ट शाक्तिमाथि दैविकशक्तिको विजयका रुपमा दशैँ मनाइँदै आएको छ । घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधना गरी राखिएको जमरा सहितको टिका वियजादशमी देखि लगाउने परम्परागत चलन हो ।

काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २४ लाख भन्दा बढी यात्रु बाहिरिएका थिए । काठमाडौँबाट मानिस बाहिरिएसँगै विगत केही दिनदेखि काठमाडौँको चहलपहल घटेको थियो भने सार्वजनिक यातायातका साधनसमेत कम चलेका थिए । काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिन्थे । 

तर, टिकाको भोलिपल्टबाट राजधानी फर्किनेको सङ्ख्यामा वृद्धि भएको छ । गोंगबुस्थित बसपार्कमा मानिसहरुको चहलपहल बढेको महसुस गर्न सकिन्छ । रोजगारी, अध्ययन तथा व्यवसायको सिलसिलामा शहर बसेका मानिसहरु दशँै मनाउन आफ्नो घर गएका थिए भने दशैँ सकिएपछि धमाधम फर्कन थालेका हुन् ।  

दशैं सकिएपछि नागढुंगा, फार्पिङ, जगाती, मुड्खुको लगायत काठमाडौंका नाकाहरुमा व्यस्तता बढेको छ । शनिबार देखि बुधबार सम्म नागढुंगा नाकाबाट २५ हजार ६ सय ९१ वटा सवारी साधन उपत्यका भित्रिएको नागढुंगा चेकपोष्टले जनाएको छ । र आज रातिसम्म सो सङ्ख्या अझै बढ्नेछ । आइतबारबाट सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढेको हो ।  गत वर्षसम्म आश्विन शुक्ल द्वादशीका दिनसम्म सरकारी कार्यालय बिदा हुने गरेकामा यस वर्ष सो बिदा हटाइएको थियो ।  

यही कात्तिक २ गते विजयादशमीका दिनदेखि शुरु भएको टिका, प्रसाद र जमरा ग्रहण आश्विन शुक्ल पूर्णिमाका दिन ६ कात्तिक गतेसम्म लगाएका थिए । अखिल बलि पूर्ति अर्थात् सबै बलि दिने काम सम्पन्न गरेपछि जमरा सेलाइएको छ । 

यसैबीच चाडबाडको मौका छोपेर बढी भाडा असुल गर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाहीमा परेका थिए । दशैँमा उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा असुल गरिएको गुनासो आएपछि विभागले चार वटा समूह परिचालन गरेर नाकामा अनुगमन गरेको थियो । कारवाहीमा परेका सवारीलाई एक हजार देखि पाँच हजार सम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

दशैँ मनाउन  गएकाहरू फर्कन थालेपछि काठमाडौंमा उल्लेख्य सार्वजनिक सवारी पनि चलेका छन् । त्यस्तै कलकारखाना, उद्योगहरु, सरकारी कार्यालय, विद्यालय आदि पनि सञ्चालनमा आउन थालेका छन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?