सुनको साँचो हस्तान्तरण भएको महारानी एलिजाबेथको त्यो नेपाल भ्रमण…

लोकपथ
0
Shares

बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा दोस्रो पटक नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । त्यसअघि उनी राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् ।

गोरखापत्रमा २०४२ साल फागुन ७ गते प्रकाशित समाचारअनुसार बेलायतकी महारानी एलिजाबेथलाई काठमाडौँ नगरपञ्चायतका प्रधानपञ्च कमल चित्रकारले सुनको साँचो हस्तान्तरण गरेका थिए । काष्ठमण्डपमा आयोजित समारोहमा साँचो हस्तान्तरण हुँदा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य उपस्थित थिए । महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिप पनि सो अवसरमा सहभागी थिए ।

साँचो चढाइएसँगै महारानीले तत्कालीन नगरपञ्चायतको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् । नौ इन्च लामो फूलको बुट्टा कुँदिएको सुन्दर भोटेसाँचो कलाकारद्वय मोतीकाजी शाक्य र स्वस्तिरत्न शाक्यले बनाएका थिए । गोरखापत्रले छापेको त्यो समाचारमा उल्लेख छ, “साँचो हस्तान्तरण समारोह नेपाली संस्कृतिसँग गाँसिएको छ । साँचो दिने प्रक्रियाले ठूलो विश्वासको स्थिति इङ्गित गर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?