बन्दका नाममा अराजकता: विप्लव कार्यकर्ताको धम्कीपछि विद्यालय हिँडेका विद्यार्थी बाटोबाटै फर्काइए

काठमाडौँ । स्कुल पढ्न पठाएका नानी– बाबु आज बिहान एक्कासी बीच बाटोबाटै फर्काइए । विशेष गरी उपत्यकाका विद्यालयमा अध्ययनरत नानी–बाबुहरुलाई स्कुलले नै घर फर्काइदियो ।

ढाडमा झोला, झोलाको एक कुनामा पानीको बोत्तल र टिफिन बक्स बोकेर विद्यालय जाँदै गरेका कोही बीच बाटोबाटै फर्किए भने केही विद्यायलयको गेटबाट फर्किएका छन् । 

यसरी फर्काइएका विद्यार्थी नानी–बाबुहरुलाई थाहा छैन, विद्यालय बन्द गरी आफूहरुलाई फर्काइएको सम्बन्धमा । शिक्षक सुरेन्द्र पाठक भन्छन्, ‘विद्यार्थीहरुमा ‘उपत्यका बन्द’ को त्रासमा पर्न नदिन आज स्कुल बन्द भन्दै फर्काउनु प¥यो, यसले विद्यार्थीहरुमा नराम्रो प्रभाव त प¥यो नै होला’, उनले भने, ‘सेकेण्ड टर्मिनल परीक्षा चलिरहेको बेला विद्यालय बन्द गर्नुपर्दा हामीलाई पनि नराम्रो लागेको छ ।’ 

अभिभावकहरुले पनि विद्यालय सञ्चालकहरुले हल्लाकै भरमा परेर शिक्षण संस्था बन्द गरी नानी–बाबुहरुलाई दुःख दिएको गुनासो गरे ।

‘बाबुलाई बोकेर भक्तपुरबाट आएँ, स्कुलको गेटमा पुग्दा बन्द भनेर अन्य नानी बाबुहरु फर्किँदै रहेछन्’, शान्तिनगरस्थित भिएस निकेतन विद्यालयका भेटिएका अभिभावक लक्ष्मण पौडेलले गुनासो पोखे ।

धेरैजसो विद्यालयले आज विद्यालय बन्द रहेको सूचना विद्यार्थी तथा अभिभावकहरुलाई समयमा दिएको थिएन । अभिभावकहरु विद्यार्थी बोकेर स्कुलको गेट तथा बस स्टपसम्म आइपुगे । 

स्कुल बसस्टप र स्कुलको गेटबाट विद्यार्थी फर्किन थालेपछि कतिपयले इन्द्रजात्राको विदा समेत भन्न थाले । 

तर, आज इन्द्रजात्राको विदा भने होइन । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले भने, ‘उपत्यका बन्दको धम्की आएको रहेछ, त्यही भएर विद्यालय बन्द गरिएको रहेछ ।’

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले उपत्यका बन्दको आयोजना गरेको पर्चा फेला प¥यो काठमाडौं प्रहरी प्रमुख लामाले थपे, ‘यही प्रचालाई आधार मानेर शिक्षण संस्था बिहान एक्कासी बन्द गरेको हुनसक्छ ।’

लामाका अनुसार शान्तिसुरक्षा दिन तयार छौँ भन्दा पनि कसैले विद्यालय खोल्ने आँट गरेनन् । उनले भने, ‘कतिपय विद्यालयहरु भने खुलेका छन् ।’

विशेष गरी निजी स्रोतबाट सञ्चालित बोर्डिङ स्कुलहरु बन्द गरिएका छन् । ‘यत्तिको लगानी गरेका छौं, जोखिम मोल्न सकिँदैन, नयाँबानेश्वरस्थित एक बोर्डिङ स्ुकलका सञ्चालकले भने, ‘आज स्कुल खोल्दा भोलि धेरै क्षति बेहोर्नुपर्छ ।’

एक दिन स्कुल बन्द गर्दा विद्यार्थीहरुको पठनपाठनमा खासै प्रभाव नपर्ने दाबी उनको छ । विद्यालय सञ्चालकहरुका अनुसार, आज बिहान विप्लव समूहका कार्यकर्ताले उपत्यकाका दुईसय भन्दा बढी विद्यालयलाई फोन गरी बन्द गर्न धम्की दिएका थिए । 

सोही धम्कीपछि एक्कासी विद्यालय बन्द गर्नुपरेको भनाइ उनीहरुको छ । जबरजस्ती गरिएको शिक्षण संस्था बन्द र हड्तालका विरुद्ध एकजुट हुने र आज विद्यालय खोल्ने एनप्याब्सन र प्याब्सनको समेत मौन सहमति थियो । 

तर, बिहान विद्यालय नखोल्न धम्की आएपछि एकपछि अर्को गरी प्रायः उपत्यकामा रहेका धेरैजसो विद्यालय बन्द गर्नुपरेको थियो । 

सोही कारण स्कुल जाँदै गरेका विद्यार्थीहरु बीच बाटो तथा स्कुल गेटसम्म पुगेर पनि फर्किन बाध्य भएका थिए । 

प्रहरीका अनुसार, उपत्यका बन्द आयोजक समूहले शिक्षण संस्थादेखि यातायात व्यवसायीहरुलाई समेत सवारी साधन नचलाउन धम्की दिएका थिए । यसरी, धम्की दिने केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?