मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो, ४ को अवस्था अझै गम्भीर

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । 

शुक्रबार मृत्यु हुने नेपालीको संख्या ७ जना पुगेको थियो भने शनिबार बिहान थप एक जनाको मृत्यु भएको हो ।

वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठकुरी उपचारका क्रममा मृत्यु भएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।  

यसैबीच, विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ मध्ये चार जनाको अवस्था अझै गम्भीर रहेको छ । दूतावासका अनुसार सात जनाको स्वास्थमा भने सुधार भएको छ ।

सेरेम्वान अस्पतालमा उपचारपछि एक नेपाली भने फर्किएका छन् । ती नेपालीले नाम उल्लेख नगर्ने सर्तमा अब रक्सीको नाम पनि नलिने बताए ।

मन्डेला ह्विस्की, किंगफिशर बियर र ग्रैंड रोयल ह्विस्कीको तीन ब्रान्डका मदिरा गत सोमबार पसलबाट खरिद गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ती विषाक्त मदिरा सेवनबाट अहिले सम्म २९ जनाको मृत्यु भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?