विमस्टेक सैन्य अभ्यासको विरोध कति जायज? कुन-कुन देशसँग गर्छ सेनाले सहकार्य?

काठमाडौं । विभिन्न मुलुकमा सञ्चालन हुने सैनिक प्रशिक्षणमा नेपाली सेनाको सहभागिताका विषयमा चर्काे टिकाटिप्पणी हुन थालेका छन् । विशेष गरी राजनीतिक पार्टीका नेता तथा सांसदहरूले यस्ता टिकाटिप्पणी गर्ने गरेका छन् । 

तर, सैनिक पदाधिकारी तथा विज्ञहरू पार्टीका नेता तथा सांसदहरूका यस्ता टिकाटिप्पणीको कुनै अर्थ नरहेको बताउँदै आएका छन् । विश्व भूमण्डलकरणीसँगै प्रायः सबै देशका समस्याहरू समान किसिमका छन् । 

एक सैनिक विज्ञ भन्छन्, ‘ती समस्याको समाधान गर्न साझा उद्देश्य, साझा योजना र तयारी हुनुपर्छ, कुनै राष्ट विरुद्ध नभई मानवजातीको हित, प्रकृति संरक्षणका लागि आयोजना हुने प्रशिक्षणमा नेपाली सेनाको सहभागिता अनिवार्य नै गर्नुपर्छ ।’ 

यस्ता प्रशिक्षणहरू नेपाली सेनाले स्वदेशमा समेत सञ्चालन गर्ने गरेको छ । विदेशमा आयोजित प्रशिक्षणहरूमा नेपाली सेनाको सहभागिता र नेपालमा आयोजित प्रशिक्षणमा विदेशी सेनाको सहभागीले कुटनीतिक सम्बन्धमा समेत बढवा पुग्ने गरेको छ । 

छिमेकी तथा मित्रराष्ट्रका सेनाहरूबीच हुने संयुक्त सैन्य अभ्यास, तालीम, प्रशिक्षण तथा सेमिनार र सहकार्यले देश–देशबीचको कुटनीतिक सम्बन्ध मजबूत पार्न सघाउ पुग्ने गरेको भनाइ विज्ञहरूको छ । 

दुईभन्दा बढी राष्ट्रका सेनाहरूले संयुक्त रुपमा सञ्चालन गर्ने यस्ता अभ्यास, तालीम, सम्मेलन र प्रशिक्षणले सैनिक कला कौशल, सीप तथा ज्ञान, अनुभव आदान प्रदान गर्नुका साथै क्षमता विकासमा सघाउ पुगेको पाइन्छ ।

विशेष गरी साझा उद्देश्य भएका विश्वशान्ति प्रयास, विपद ब्यवस्थापन, प्रतिआतंकबाद र सञ्चार प्रविधि (सिग्नल) को प्रयोगका सम्बन्धमा संयुक्त सैनिक अभ्यास तथा प्रशिक्षणहरू लाभदायिक हुने गरेको मानार्थ पूर्वउपरथी ताराबहादुर कार्कीे बताउँछन् ।

‘सेनाका लागि प्रशिक्षण, अभ्यास, सम्मेलन र तालीमहरू नियमित काम–कारवाही हुन्, कार्की भन्छन्, ‘यस्ता क्रियाकलाप नेपाली सेनाको सहभागिताले क्षमता अभिवृद्धिमात्र नभई देश–देशहरूबीचको कुटनीतिक सम्बन्ध र परराष्ट्र नीतिमा समेत टेवा पु¥याएको हुन्छ ।’

विषयवस्तुको आवश्यकता र ‘अलाइन्स गठनबन्धन’ को महत्त्वलाई ख्याल गरी सेना स्वदेश तथा विदेशमा तालीम तथा अभ्यासहरूमा सहभागिता जनाउँदै आएको इतिहास छ । कार्की अगाडि थप्छन्, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने सैनिक तालीम तथा प्रशिक्षणमा सेनाको सहभागितालाई लिएर टिकाटिप्पणी गर्नुको अर्थ छैन ।’

एक दर्जनभन्दा बढी मुलुकसँग सहकार्य

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले प्रत्येक वर्ष भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, मालदिभ्स, चीन, बेलायत, अमेरिका, क्यानडा, दक्षिण कोरिया लगायतका एक दर्जन देशका सेनाहरूसँग प्रशिक्षण गर्दै आएको छ । 

सेनाको पेशागत क्षमता अभिवृद्धि सम्बन्धि यस्ता प्रशिक्षण बार्षिक रुपमा हुने गर्छन् । सैनिक प्रवक्ता गोकुल भण्डारी वार्षिक रुपमा ३० देखि ५० जनासम्म नेपाली सेना विभिन्न देशहरूमा र सोही संख्यामा विदेशी सेनाहरू नेपाल आउने गरेको बताउँछन् ।

प्रशिक्षार्थी आदान–प्रदान

नेपाली सेनाद्वाारा सञ्चालित कमाण्ड तथा स्टाफ कलेज, विश्वशान्ति प्रयास अभ्यास, हाई अल्टिच्युट माउण्टेन वारफेयर, प्यारा जम्प, जंगल वालफेयर, अधिकृत आधारभूत तालीममा विदेशी प्रशिक्षार्थीहरूको सहभागिता रहने गरेको छ ।

नेपाली सेना पनि सोही प्रशिक्षणमा सहभागी हुन ती देशहरूमा जाने गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवम् प्रवक्ता भण्डारी सैनिक प्रशिक्षणका विषयमा बुझेर भन्दा पनि नबुझेर अनावश्यक चर्चा परिचर्चा हुने गरेको दावी गर्छन् ।

शान्ति प्रयास

नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा बहुराष्ट्रका सेनाहरूको सहभागितामा ‘शान्ति प्रयास–अभ्यास’ सञ्चालन गर्दै आएको छ । 

एसिया प्रशान्त क्षेत्र राष्ट्रका सेनाको सहभागिता हुने उक्त तालीममा संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति अभियानमा खटिइने सेनाको क्षमता अभिवृद्धि गर्न, सीप र ज्ञान आदान प्रदान गर्न सहयोग पुग्ने गरेको सैनिक प्रवक्ता भण्डारी बताउँछन् । 

सिग्नल सञ्चार प्रशिक्षण 

सैनिक गतिविधि सञ्चालनमा मल्टिनेशनल कम्युनिकेसन (सञ्चार सिग्नल) को महत्वपूर्ण भूमिका हुने गर्छ । एक देशको सेनाले अर्को देशका सेनासँग सहकार्य गर्न तथा अत्याधुनिक सञ्चार प्रविधिको प्रयोगलाई प्रभावकारी तुल्याउन यस किसिमको तालीम हुने गर्छ । 

नेपाली सेनाले मल्टीनेशनल कम्युनिकेसन इण्टर ओप्रेलिलिटी प्रोग्राम (एमसीआइपी) तालीम तथा अभ्यास एसिया प्यासेफिक क्षेत्रका राष्ट्रका सेनाहरूबीच सञ्चालन गर्दै आएको छ । २० राष्ट्रका सेनाहरूको सहभागिता थियो । 

जासुसी विभाग प्रमुखको सम्मेलन

एसिया प्यासेफिक राष्टका सेनाहरूको गोप्य तथा जासुसी विभाग प्रमुखहरूको सम्मेलन ‘एपिइसिसी’ हालै नेपालमा सम्पन्न भएको छ । यो सम्मेलनमा २३ राष्ट्रका जासुसी विभाग प्रमुखहरूको सहभागिता रहेको थियो । 

विपद व्यवस्थापन 

नेपाल विपदको दृष्टिकोणले उच्च जोखिममा रहेको राष्ट्र हो । नेपाली सेनाले विपद व्यवस्थापन, उद्धार, उपचार र पुनस्र्थापना सम्बन्धी ज्ञान, सीप, कला र क्षमता अभिवृद्धि गर्न बृहत् प्रशिक्षण सञ्चालन गर्दै आएको छ । यसअघि सेनाले डिजास्टर रेस्पन्स एक्ससाइज डिआरईई सञ्चालन गर्दै आएको थियो ।

सूर्यकिरण १३ 

नेपाल र भारतीय सेनाबीच सूर्यकिरण अभ्यास हुँदै आएको छ । यो अभ्यास एकवर्ष नेपाल र एक वर्ष भारतमा आयोजना हुने गर्छ । 

सगरमाथा फ्रेण्डसीप

नेपाल र चीनका सेनाबीच हुने यस किसिमको अभ्यास २०७४ सालबाट शुरु गरिएको हो । यो तालीमले नेपाल र चीनका सेनाबीचको सम्बन्ध बिस्तार गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । यो तालीम प्रतिआतंकवादसँग सम्बन्धित रहेको छ । 

ब्यालेन्स नेल

नेपाल र अमेरिकी सेनाबीच यस किसिमको तालीम सञ्चालन हुँदै आएको छ । यो तालिम पनि विपद व्यवस्थापन र प्रतिआतंकवादसँग सम्बन्धित हुने गरेको छ । 

क्रमोराण्ट स्ट्राइक

श्रीलड्कन सेनासँग नेपाली सेनाले क्रमोराण्ट स्ट्राइक अभ्यास गर्दै आएको छ । यो अभ्यास विशेष गरी श्रीलंकामा नै हुने गरेको छ । नेपाल र श्रीलंकाली सेनाबीचको सम्बन्ध प्रगाढ बनेको सेना बताउँछ ।

‘क्याम्ब्रीन पट्रोल’ 

बेलायती सेनाले आयोजना गर्ने ‘क्याम्ब्रीन पट्रोल’ अभ्यास तथा प्रतियोगितामा नेपाली सेनाले सहभागिता जनाउँदै आएको छ । यस्तो प्रतियोगितामा नेपालको सहभागिता उत्कृष्ट हुने गरेको छ । 

‘इन्टरटेन फिजिकल युग्लीटी’ तथा ‘कम्ब्याट इफेन्सीटी सिस्टम’

पाकिस्तानी सेनाले आयोजना गर्ने यस किसिमको प्रतियोगितामा नेपाली सेनाले भाग लिने गरेको छ । २०१६ मा आयोजित प्रतियोगितामा नेपाल उत्कृष्ट भएको थियो । अब हुन लागेको २०१८ को प्रतियोगितामा नेपालको सहभागिता हुनेछ ।

विमस्टेक 

विमस्टेक राष्टका सेनाहरूको सहभागितामा पहिलो पटक भारतमा आयोजित उक्त अभ्यासमा  नेपाली सेना परिवेक्षकको रुपमा मात्र सहभागि भएको थियो । प्रतिआतंकवाद लक्षित यो अभ्यासमा नेपालको सहभागिताका विषयमा विवाद उठेपछि नेपालले पर्यवेक्षकको रुपमा मात्र सहभागिता जनाउने भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?