ठमेलबाट ‘एटीएम ह्याकर’ को अन्तर्राष्ट्रिय गिरोह पक्राउ

काठमाडौं । ठमेलबाट ‘एटीएम ह्याकर’को अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ । ह्याकर समूहमा तीन भारतीय नागरिक र दुईजना नेपाली रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले आज विहान ठमेलका विभिन्न होटलमा बसिरहेको अवस्थामा सो समूहलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भारतको राजधानी नयाँ दिल्लीका विण्टु गौतम, विकास गोसाई, केरलाका जिण्टु जोया र नेपाली नागरिक काभ्रे तिमालका विजय दोङ लामा र क्षेत्रपाटीका अनुज नकर्मी रहेका छन् । 

परिसरका प्रमुख बसन्त लामाका अनुसार, लामा थान्का व्यावसायी हुन् भने नकर्मी गाइडको काम गर्छन् ।

अन्य भारतीय नागरिक भ्रमणको सिलसिलामा १०/१५ दिनअघि नेपाला आएको बताइन्छ । 

भारतीय नागरिकहरुले अनलाइन बुकिङबाट विभिन्न होटलको रुम बुकिङ गरेको पाइएको छ । उनीहरु एटीएम ह्याक गरी नगद झिक्ने उद्देश्य नै नेपाल आएको बताइएको छ । 

उक्त एटीएम ह्याकर समूहको साथबाट सातवटा ह्याकिङ उपकरण तथा मेसिनहरु, एटीएम कार्डहरु, कपि मेसिन बरामद भएको प्रहरीले जनाएको छ । 

ठमेल र दरबारमार्ग लगायतका क्षेत्रमा रहेका विभिन्न बैंकका एटीएम बुथहरुबाट सो समूहले नगद निकाल्ने गरेको पाइएको छ । प्रहरीका अनुसार यो समूहले विदेशी नागरिकको एटीएम नम्बर ह्याक गरी नेपालबाट नगद झिक्ने गरेको थियो ।

हालसम्म कति नगद झिके भन्ने कुराको सम्बन्धमा अनुसन्धान जारी रहेको परिसरले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?