निर्मला हत्या प्रकरण : के हुँदै छ अनुसन्धान ?

काठमाडौं– प्रहरीले दिलीप विष्टका साथै कञ्चनपुरकी निर्मला पन्त हराएको घरका दिदीबहिनी बबिता र रोशनी बमलाई पनि पक्राउ गरेको छ ।
 जिल्ला न्यायाधिवक्ता खेमराज भट्टका अनुसार प्रहरीले दिलीपलाई बढीमा २८ भदौसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । उनका अनुसार त्यसपछि प्रहरीसँग तीन विकल्प मात्र बाँकी रहन्छन् । पहिलो, प्रमाण पु(याएर मुद्दा अभियोजन गर्ने । दोस्रो, सरकारी वकिलको कार्यालयको सम्मतिमा पछि फेरि अनुसन्धानका लागि झिकाउन सक्ने गरी धरौटी लिएर तारेखमा छाड्ने । र, तेस्रो प्रमाण जुटाउन नसके रिहा गर्ने । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

दिलीपको हकमा प्रहरीको आशा डिएनए परीक्षण प्रतिवेदनमै टिकेको छ । किनकि, उनलाई दोषी ठहर गर्न सक्ने अन्य ठोस प्रमाण प्रहरीसँग छैन । प्रहरीले निर्मलाको शव परीक्षणका लागि १३ साउनमा नै प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइसकेको छ भने ५ भदौमा दिलीपको रगत पनि डिएनए परीक्षणका लागि पठाएको छ । काठमाडौंमा उपचारकै क्रममा रहेका वेला १३ भदौमा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले पनि दिलीपको डिएनए परीक्षणका लागि रगत लिएको छ । ती सबै रिपोर्ट दुई–तीन दिनभित्र आइपुग्ने एसपी कडायतले बताए । ‘विष्टबारे त्यसपछि मात्रै केही भन्न सकिन्छ,’ उनले भने ।

यता सिआइबीको नयाँ टोलीले फरक ढंगले अनुसन्धान अघि बढाएको छ । घटनास्थलनजिकै एक ठेकेदारको घर छ । जहाँ दिनहुँ ६–७ वटा टिपर, त्यसका चालक, सहचालक र मजदुर रहन्छन् । सिआइबीले उनीहरूसँग पनि सोधपुछ गर्ने र विभिन्न कोणबाट अनुसन्धान गर्ने काम गरिरहेको छ । त्यसबाहेक घटनास्थलनजिकै सेनाको श्री २५ नम्बर बाहिनी गण छ । सिआइबीले यस्ता विभिन्न कोणबाट अनुसन्धान थाले पनि हालसम्म ठोस उपलब्धि हासिल गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?