अहिलेसम्म विप्लवका को-को पक्राउ परे ?

काठमाडौं – सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तै विगतमा सँगसँगै लडेभिडेका गृहमन्त्री रामबहादुर थापाले आफ्नै पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता÷कार्यकर्तालाई धमाधम पक्रन आदेश दिएका छन् ।

३३ किलो सुनकाण्डमा ठूलो माछा फेला पर्छ भन्दै आएका गृहमन्त्री थापाले त्यो ठूलो माछा त अहिलेसम्म बल्छीमा पार्न सकेका छैनन् तर विप्लव नेकपाका अहिलेसम्मका सबैभन्दा ठूला ‘माछा’ याने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरेका छन् ।

अहिलेसम्म आफ्नो पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता प्रकाण्ड, १२ जना पोलिटव्युरो र एक सय दुई जनालाई पक्राउ गरिएको सो पार्टीले जनाएको छ । यसमा अधिकाशं जिल्लास्तरका नेता रहेका छन् ।

उनीहरुलाई चन्दा असुली, ठगी, विस्फोटक पदार्थ विस्फोट, आगजनी, संगठित अपराध, सार्वजनिक अपराध जस्ता आरोपमा पक्रेर सोहीबमोजिमको मुद्दा लगाएको बताइन्छ ।

सो पार्टीका एक नेताका अनुसार पक्राउ पर्ने अन्यमा मेचीब्युरो इन्चार्ज सुमन लिम्वु, कोसी ब्युरो इन्चार्ज किरण राई, पोलिटव्युरो सदस्यहरु ओमप्रकाश पुन, पदम राई, कृष्ण धमला, मोहन कार्की छन् । यस्तै पार्टीका केन्द्रीय सदस्यहरु दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसी, चन्द्रबहादुर खड्का पनि पक्राउ परेका छन् । सरकारले उक्त पार्टीका महासचिव विप्लवलाई समेत पक्रन वारेन्ट जारी गरेको छ ।

साथै पूर्वी जिल्लाका अधिकांश जिल्ला सेक्रेटरी प्रहरीले नियन्त्रणमा परेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?