इराकमा मिसाइल आक्रमण प्रकरण : बोल्यो नेपाली सेना

काठमाडौँ । इस्लामिक रिभोलुसनरी गाडए क्रप्सका प्रमुख कासिमी सुलेमानीको हत्यापछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आक्रमणपछि नेपाली सेनाले शान्ति स्थापनार्थ यूएन मिशनहरुमा तैनाथ आफ्ना युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न निर्देशन दिएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्तिमार्फत उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको पनि जानकारी गराएको छ ।

सेनाले ईराकमा तैनाथ गार्ड युनिट लगायत युएनआईएफआईएल मिशन लेवनान र युएनडीओएफ मिशन र सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाईसमेत विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वार्टर र शान्ति सेना सञ्‍चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ ।
इरानले अमेरिकी सेनाको हवाई अड्डामा गरिएको मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको दाबी गरेको छ।
इरानी सरकारी टेलिभिजनका अनुसार ‘इरानले ८० अमेरिकी आतंकवादी’ मिसाइल आक्रमणमा मारिदिएको छ।

आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि इरानले अमेरिकासँग बदला लिने बताएको थियो।

मंगलबार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषित गरेको थियो। बुधबार बिहानै इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।

क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका थिए।  इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग युद्ध चाहेको अरोप लगाएका छन् ।   एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?