देशभरि चिसो बढ्यो : काठमाडौंमा सिमसिमे वर्षा, हिमाली भेगमा भारी हिमपात हुनसक्ने

काठमाडौं-  बिहिबारबाट देशभरि चिसो बढेको छ । भूमध्य सागरको वायुको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकश्मीर हुँदै हिजोबाट नेपालको पश्चिमी भूभागबाट मौसमी वायु नेपाल भित्रिएको छ । अहिले काठमाडौं लगायत देशभरको मौसम चिसो छ । आकाश धुमिल छ । भने काठमाडौंमा सिमसिम पानी परेको छ ।

आज ‘पहाडी भेगमा बदली भइ हल्का वर्षा हुनेछ। हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपातको सम्भावना छ । हिमपात हुने भेगका बासिन्दा र पर्यटकले शनिबारसम्म सचेत रहन मौसमविद्ले सुझाएका छन् । मौसममा भएको अदलअदलका कारण ‘तराई भेगमा पनि चिसो बढ्नेछ । पूर्वी तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने सम्भावना छ।
तर तराईमा शीतलहरको सम्भावना नभएकोले आत्तिनुपर्ने अवस्था छैन । यसैबिच देशका पश्चिमी भूभागका केही स्थानमा हावा हुरी आउने पनि सम्भावना रहेको जनाइएको छ ।

आज बिहान केहि स्थानको हवाई सेवासमेत अवरुद्ध भएको छ ।

बुधबारबाट परिवर्तित भएको नेपालको यो मौसम शनिबारसम्म अन्त्य हुने महाशाखाले जनाएको छ ।  भोलि शनिबार देशभर आंशिकदेखि सामान्य बदली हुनेछ भने केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ।

आउँदो आइतबार देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही पश्चिमका थोरै स्थानका साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना पूर्वानुमान गरिएको छ ।

यो वर्षकै सबैभन्दा बढी चिसो मंसिर १४ गते भएको थियो। उक्त दिन तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?