अलैँचीलाई विषादीमुक्त बनाउन जोड

ताप्लेजुङ, ६ पुस । अलैँची खेतीतर्फ कृषकको आकर्षण बढे सँगै ताप्लेजुङमा यसको उत्पादनमा वृद्धि भएको छ ।

यस वर्ष दुई हजार ९४० मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो पछिल्लो ६ वर्ष यताकै बढी उत्पादन हो । गत वर्ष दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

चालु आर्थिक वर्ष २०७४/७५ मा चार हजार २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । हालको बजार भाउअनुसार यस वर्षको उत्पादनले जिल्लामा दुई अर्ब बढी भित्रने जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी मित्रलाल पौडेलले बताए

अहिले जिल्लामा अलैँची प्रतिमन (४० किलो) २८ हजारका दरले कारोबार भइरहेको छ । प्रमुख नगदेबालीका रुपमा परिचित अलैँची खेतीतर्फ कृषकको आकर्षण बढेको र खेती व्यवस्थापनमा समेत सुधार हुँदै गएकाले उत्पादनमा वृद्धि भएको पौडेलले बताए ।

केही वर्षअघि अचानक भएको मूल्य वृद्धिपछि अधिकांश कृषकले अन्न उब्जनी हुने खेतबारी मासेरै अलैँची खेती गरेका थिए । अहिले पनि पाखो जग्गादेखि करेसाबारीसम्म सिँचाइको व्यवस्थापन गरेर किसानले अलैँची खेती विस्तार गरिरहेका छन् ।

कार्यालयको तथ्यांकअनुसार आव २०६९/७० मा दुई हजार ६५५ हेक्टरमा गरिएको अलैँची खेतीबाट एक हजार ७२६ मेट्रिक टन, आव २०७०/७१ मा तीन हजार ११२ हेक्टरमा एक हजार ६८०, आव २०७१/७२ मा तीन हजार ९५० हेक्टरमा एक हजार ४१०, आव २०७२÷७३ मा चार हजार १५० हेक्टरमा दुई हजार ४९० तथा आव २०७३/७४ मा चार हजार २०० हेक्टरमा दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो बर्षेनी खेती विस्तारसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको छ । अघिल्ला वर्षमा रोग लागेर सखाप भएको बगानमा पुनः नयाँ बिरुवा लगाएपछि र खेती व्यवस्थापनमा थप मिहेनत गरेपछि उत्पादन बढेको कृषकले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?